hit counter

Tuesday, August 17, 2010

चिट चोराउने छतबाट खसेर घाइते-

दैलेख, भदौ १- यहाँस्थित त्रिभुवन उच्च मावि परीक्षा केन्द्रमा सञ्चालन भएको प्रवेशिका पुरक परीक्षाको तेस्रो दिन गणित विषयको प्रश्‍नपत्र बाँडिएको ५ मिनेटमै बाहिरिएको छ। यसरी बाहिरिएको प्रश्‍नपत्र फोटोकपी गर्नेको भीड नै लागेको थियो भने परीक्षार्थीले मोबाइलमार्फत् बाहिर उत्तर सोधेर लेखेका थिए।

परीक्षार्थीलाई प्रश्‍नपत्र वितरण गर्दै जाँदा अपुग भएपछि ३ जना परीक्षार्थीले एउटै प्रश्‍नपत्र हेरेर परीक्षा दिएका थिए। प्रश्‍नपत्र वितरण भएको २० मिनेटपछि बल्ल अपुग प्रश्‍नपत्र खोजतलास गर्दा प्रहरी कार्यालयमै छुटेकाले २० मिनेटपछि मात्र अरु परीक्षार्थीले प्रश्‍नपत्र पाएका थिए। प्रश्‍नपत्र बाहिरिएपछि बजारका विभिन्न पुस्तक पसलमा फोटोकपी गर्नेको घुइँचो लागेको थियो। पसललेहरुले प्रतिकपी १० रुपैयाँ लिएर फोटोकपी गरिदिएका थिए।
जिल्ला शिक्षा अधिकारी नन्दलाल पौड्यालले परीक्षा हलभित्र मोबाइल निषेध गर्ने सूचना जारी गरे पनि परीक्षा हलबाट नै परीक्षार्थीले ढुक्कसँग मोबाइलमार्फत् उत्तर सोधेर लेखिरहेका थिए।
साथै चिट चोराउने क्रममा प्रहरीले लखेट्दा घरको छतबाट हामफाल्दा रानिवन गाविस-१ लामिडाँडा गुर्जैनीका १९ वर्षीय दिनेश शाही घाइते भएका छन्। प्रहरीले पहिलो लाठी बायाँ पाखुरामा र दोस्रो लाठी खुट्टामा हानेपछि घाइते दिनेश शाहीको दुई वटै खुट्टामा गम्भीर चोट लागेको छ। घाइते आफैं पर्सि हुने विज्ञान विषयका परीक्षार्थी हुन।

No comments:

Post a Comment