hit counter

Tuesday, August 24, 2010

अग्नी एअरको विमान दुर्घटनाग्रस्त/चालक दलसिहत १४ जनाको मृत्यु

काठमाडौ, भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको ९ एन, एएचइ, डि २२८ डोनियर विमान मकवानपुरको शिखरपुर गाविस वडा नं २ वस्तीपुरको हारे स्कूलको चौर नजिक मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ ।

काठमाडौंबाट विहान ७ वजेर ४ मिनेट जाँदा सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । चालक दलका तीन र यात्रु ११ जना विमानमा थिए । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको छ । अग्नी एअर अपरेशन कक्षका अनुसार विहान ७ बजेर ५ मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो । ११ जना यात्रु मध्ये ६ जना विदेशी नागरिक छन् । विमान चालक दलमा क्याप्टेन लक्ष्मणप्रताप शाह, सह–चालक सोफिया सिंह र परिचारिका सहारा शेर्पा थिए ।
सोलुस्थित संवाददाता जुली गुरुङका अनुसार दुर्घटनामा परेका विमानमा जापानी नागिरक हृयासी हुकी, बेलायती जेरेमी टेलर र अमेरिकीहरु फेन्च हिटर, सेक्ट्र्सर् इरिना, फेन्स इचफिस, कार्र्डोसो र फोल्लोक सवार रहेको अग्नि एयरलाईन्सका लुक्लास्थित रिजर्बभेसन म्यानेजर विष्णु दुलालले जानकारी दिएका छन् । दुलालका अनुसार विमानमा रहेका नेपालीहरु अमेरिकी टोलीका गाईड प्रकाश उमागाई र छोटकरीमा नाम लेखिएका आई रिजाल, मीस र्राई र मिस्टर भोटे लगायत ५ जना रहेका छन् । म्यानेजर दुलालले पुरा नाम खुल्न नसकेको बताएका छन् ।

त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको छ । उक्त कक्षले विमान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको र उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ । तयारी अवस्थामा राखिएको हेलिकप्टर मौसम खराबीका कारण त्यसतर्फ जान सकेको छैन ।
विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको छ । लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अन्य युनिटहरुबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएपनि लगातारको वर्षा र खोलामा आएको बाढीले प्रहरी टोलीलाई त्यहाँ पुग्नमा कठिनाइ भइरहेको छ ।

No comments:

Post a Comment